कतारस्थित नेपाली राजदूतावासले विशेष समारोहको आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ। दूतावासले राजदूतावासका कूटनीतिक, स्थानीय कर्मचारी साथै नेपाली समुदाय तथा कतारमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितिमा संविधान दिवस मनाएको हो।
कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक शुरूवात गर्नु भयाे । त्यसपछि राजदूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नु भएकाे थियाे भने नेपालको राष्ट्रिय गान पछि एक मिनेट मौनधारण गरी शहिदहरु प्रति सम्मान व्यक्त गरिएको थियो । समारोहमा यस दिवसलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट तयार गरिएको विशेष भिडियो पनि देखाइएको थियो ।
उक्त शुभकामना समारोहलाई सम्बोधन गर्दै कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले यो संविधानले लोकतन्त्र, मौलिक अधिकार र स्वतन्त्रता, मानव अधिकार र मानव गरिमाको सार्वभौमिक मूल्यहरुलाई समेटेको बताउदै कतारमा रहेका नेपाली समुदायमा संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नु भयाे ।
समारोहमा राजदूतावासका नियोग उपप्रमुख लक्ष्मण खनालले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रमको संचालन राजदूतावासका द्धितीय सचिव प्रवीण भट्टराईले गर्नु भएकाे थियाे ।