सिनियर महिला टोलीले घरेलु मैदानमा महिला साफ च्याम्पियनसिप, पुरूष टोलीले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-२० च्याम्पियनसिप छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।
दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप २०२२ को समूह ‘बी’ को अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । नेपाली समय अनुसार खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज नै साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले घरेलु टोली श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ८:१५ बजे सुरु हुनेछ । समूह ‘बी’ मा भुटान र भारतलाई पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । भुटानमाथि २-१ को जित दर्ता गरेको नेपालले अन्तिम खेलमा भारतलाई ३-१ ले हराएको थियो ।
नेपालले एएफसी यू-२० च्याम्पियनसिप २०२३ को छनोटमा आज कतारसँग पनि खेल्दैछ । बहराइनको अल मुहारक रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको ११:४५ बजे सुरु हुनेछ । कतार प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।