कतारस्थित नेपाली दूतावासले पुन: श्रम स्वीकृति प्रदान गर्ने

कतारस्थित नेपाली दूतावासले पुन: श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

नेपाल सरकार (सम्माननीय प्रधानमन्त्रीस्तर) को निर्णयबमोजिम गन्तव्य मुलुकमा रहेको नेपाली कुटनैतिक नियोगबाट श्रम स्वीकृति प्रदान गर्ने सम्बन्धमा कतारस्थित नेपाली राजदूतावासबाट २०८० साल बैशाख १२ गते देखि पुन: श्रम स्वीकृतिको प्रक्रिया सुचारु हुने एक सूचना मार्फत दूतावासले जानकारी गराएको छ ।

पुन: श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाईट https://feims.dofe.gov.np/ मा गएर आवेदन दिन सकिनेछ । हाललाई राजदूतावासको उपलब्ध जनशक्तिको आधारमा बढिमा दैनिक ५० आवेदन रुजु गर्ने दूतावासले सूचनामा उल्लेख गरेको छ ।

पुन: श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभागको वेबसाईटमा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्नेमा लग ईन गर्नुपर्ने हुन्छ । लग ईन भैसकेपछि पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरेर वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रवेश गर्नुपर्ने हुन्छ र श्रम स्वीकृतिका लागि आवेदनमा क्लिक गरि प्रक्रिया अगाडि बढाई आवेदन दिनुपर्ने हुन्छ । पासवर्ड विर्सिएको खण्डमा राजदूतावासको [email protected] मा इमेल गरी आफनो पासपोर्ट नम्बरसहित रिसेटका लागि अनुरोध गर्न सकिनेछ ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गईसकेपछि माग भए बमोजिमको सम्पूर्ण कागजपत्र राखेर अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन ठाउँ कतार छनौट गरी आवेदन दिनुपर्नेहुन्छ । प्रक्रिया पुरा गर्नका लागि राहदानी, कतारी आईडी, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृति, कतार आएको मिति स्पष्ट देखिने कागजात अपलोड गर्नुपर्ने हुन्छ ।

श्रम स्वीकृतिका लागि तिर्नु पर्ने कल्याणकारी कोष, जीवन बीमा र सामाजिक सुरक्षा कोषको रकम विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपिएस, ईसेवा र खल्तीबाट तिर्न सकिनेछ ।

श्रम स्वीकृतिका सम्बन्धी कार्यका लागि राजदूतावासमा उपस्थित भने हुन नपर्ने सूचनामा उल्लेख गरिएको छ ।

MORE FROM RADIO SUNO