ओमानका सल्तनतले हय्या कार्ड भएकाहरुलाई फिफा विश्वकप कतार २०२२ का समयमा आफनो देशमा नि:शुल्क बहु-प्रवेश भिसा दिइने घोषणा गरेका छन् ।
नि:शुल्क बहु-प्रवेश भिसा ६० दिनसम्मको अवधिका लागि मान्य हुनेछ। पर्यटन तथा सम्पदा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ओमानले सन् २०२२ को विश्वकप कतारसँगै हुने कार्यक्रमको विवरण सार्वजनिक गरेको हो ।
हय्या भएकाहरुलाई ओमानमा बसोबास गर्ने आफ्ना नजिकका आफन्तहरूसँगै बस्न अनुमति दिने र उक्त देशमा हुँदा आवश्यकता अनुसार भिसालाई अर्को श्रेणीमा परिवर्तन गर्न अनुमति दिने जानकारी गराएको छ ।
यसैबीच जोर्डनका अधिकारीहरूले पनि हय्या कार्ड भएकाहरुलाई जोर्डन प्रवेश गर्न कुनै अपवाद बिना सबै राष्ट्रियताहरूको लागि पूर्व स्वीकृतिको आवश्यकता बिना बहुप्रवेश भिसा प्रदान गर्ने घोषणा गरेका छन्।